काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन्। शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा महतले राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको बताए।
उनले राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकादेखि कर्मचारी, सुरक्षा निकाय, निजी क्षेत्र वा पत्रकार जगत सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको उनकाे भनाइ थियाे। ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, उनले भने, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु। यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ।’
संसद् भित्र र बाहिर आफ्ना सबैले स्वीकार गरेकाे दाबी उनले गरे। उनले भने, 'संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्।'
पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सञ्चिति पनि राम्राे भएकाे बताउँदै उनले आर्थिक गतिविधि अगाडि बढाउनका लागि देखिएका समस्याहरूकाे सम्बाेधन गर्न सरकार लागिरहेकाे भनाइ उनकाे थियाे। आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।