काठमाडाैं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा भएकाे निष्पक्ष छानबिनले जनतामा उत्साह छाएकाे बताएका छन्। शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।
ललिता निवाससँगै सुन तस्करी प्रकरण र भुटानी शरणार्थी प्रकरणलगायतका घटनामा निष्पक्ष छानबिन र कारबाही भएकाे उनकाे भनाइ थियाे। जसले जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको उनले बताए।
उनले भने, ‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिनन र कारबाहीले जनतामा उत्साह आएको छ।’ यी प्रकरणमा निष्पक्षपयपूर्वक काम गरेकाले सरकारको प्रशंसा भएको उनकाे भनाइ थियाे।
विगतमा कमजोरीहरु भएको स्वीकार्दै उनले आत्मालोचना गरेर जनतासामु जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले भने, 'जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ। हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ।'
‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ले पार्टीमा नयाँ उर्जा पैदा गर्ने र जनतामा नयाँ ढंगले सम्बन्ध स्थापित हुने उनकाे भनाइ थियाे। उनले भने, 'माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ। इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ।'
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शनिबार बिहान भर्चुअल रूपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन्। औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ।
केन्द्रीय समितिको चौथो बैठक (२०८० साउन १७-२१) ले तय गरे अनुसार अभियान अभियान सुरु भएको हो। यो अभियानको नारा ‘घर-घरमा माओवादी, जन-जनमा माओवादी’ तय गरिएको छ।
अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामहरूको बारेमा जानकारी गराउने लक्ष्य तय गरिएको छ। नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटी बैठक सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।