काठमाडौं- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को शनिबार उद्घाटन हुँदैछ। शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गर्दैछन्।
केन्द्रीय समितिको चौथो बैठक (२०८० साउन १७-२१) ले तय गरे अनुसार अभियान अभियान सुरु हुन लागेको हो। यो अभियानको नारा ‘घर-घरमा माओवादी, जन-जनमा माओवादी’ तय गरिएको छ।
अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामहरूको बारेमा जानकारी गराउने लक्ष्य तय गरिएको छ। नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटी बैठक सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरूले गर्ने भनिएको छ। अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरूलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरूलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ। जहाँ जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ। अभियान तीन चरणमा सम्पन्न गरिनेछ।
माओवादीका सम्पूर्ण पदाधिकारीहरूलाई विभिन्न स्थानबाट अभियानको उद्घाटन गर्ने जिम्मेवारी दिइएको छ। जसअनुसार, अध्यक्ष प्रचण्डले काठमाडौंको चन्द्रागिरि नगरपालिका- २ को घट्टेडाँडा पार्कबाट अभियानको उद्घाटन गर्नेछन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुर महानगरपालिका- २८ स्थिति हरिसिद्धीबाट अभियानको उद्घाटन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।