पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन्।
शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताए।
सभामा प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।’
उनले समाजवादी मोर्चा कुनै आवेगमा र निर्वाचनको उद्देश्यले मात्रै बनाएको नभई समाजवादका, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति बनाइएको दाबी गरे। नेत्रविक्रम चन्द विप्लव र उपेन्द्र यादवलगायत धेरैजसो जनयुद्धका सहयोद्धा मोर्चामा रहेको बताउँदै उनले माधव नेपाल पनि सँगै पार्टीमा काम गरेको व्यक्ति भएकाले प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाइएको बताए। यो विशाल शक्ति बन्दै जाने उनको भनाइ थियो।
गठबन्धन सरकार सुझबुझपूर्ण ढंगले गठन भएको बताउँदै उनले यस सरकारले राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेको दाबी गरे। आफू प्रधानमनन्त्री बन्दा देश श्रीलंका बन्छ भन्ने आतंक रहेको बताउँदै उनले अब त्यो अवस्था नभएको बताए। वित्तीय नीति र मौद्रिक नीतिबीच एकरूपता कायम गरिएको तथा निजी क्षेत्रलाई विश्वास लिएर काम अगाडि बढेको उनको भनाइ थियो। उनले भने, ‘रेमिटान्स बढेको छ, राजश्व बढेको छ, पर्यटक आगमनमा वृद्धि छ। तर, अर्थतन्त्रको दवाव पूरै हटिसकेको छैन। यसका लागि सरकारले दृढतापूर्वक काम गर्दैछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।