काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान सानो उद्देश्यले सुरु नगरिएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभामा सुन तस्करी प्रकरणबारे बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सुन तस्करी प्रकरणको छानबिनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको दोहोर्याए। यस अभियानको उद्देश्य सुरुमा हल्ला गर्ने र अन्तिममा भ्रष्टाचारीलाई त्यत्तिकै रफादफा गर्ने नभई निकै ठूलो रहेको उनको भनाइ थियो। उनले आफू नै मुछिए पनि नछाड्न निर्देशन दिएको बताए।
‘सुरुमा हल्ला गर्ने, पक्रिने र अन्तिममा भ्रष्टाचारीलाई त्यत्तिकै रफादफा होला भन्ने लागेको हुनसक्छ। कतिलाई लागेको छ–अरुलाई पक्रिन र आफ्ना बचाउन होला,’ उनले भने, ‘यो अभियान सानो मनले, विचार र उद्देश्यले सुरु गरिएको होइन। तपाईंहरु अनुसन्धान गर्दै जानुहोस्–बाटोमा प्रचण्ड देखेपनि नछाड्नूहोस् भनेको छु।’
उनले आफ्नै पार्टी माओवादीको नेता समेत सुनमा प्रकरणमा जोडिएका विषयमा समाचार आइरहेको बताउँदै आफूले दोषी देखिए कारबाही गर्न भनेको बताए। उनले भने, ‘कोही संलग्न देखियो भने पक्डिए भयो नि भनेर म प्रधानमन्त्रीले नै भनिरहेको छु। तैपनि देशभरी जनता भ्रममा पार्नेगरी कुरा भइरहेको छ– आफ्ना छाड्ने, अरुका पक्रिने भनेर।’
उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भएको समेत त्यहाँ बताए। उनीतिर हेर्दै भने, ‘माधवजीका बारेमा धेरै प्रश्न उठे। पहिलोचोटी निर्दोष हो भन्ने सावित भयो। औपचारिक ढंगले सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपनि उहाँ निर्दोष हुनुभयो। माधवजीलाई मात्रै फाइदा भएन, मलाई पनि भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।