तातोपानी– नेपाल–चीन सीमा नाका तातोपानी ८ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ। चीनको सहमतिपछि शुक्रबारदेखि सर्वसाधारणले समेत आवतजावत गर्न पाउने गरी नाका खुला गरिएको हो।
तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको छ। शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली टोली तातोपानी नाका हुँदै चिनियाँ भूमि प्रवेश गरे। सांसद सापकोटासहितको नेपाली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गरे।
नेपाली टोलीका नेता सापकोटाले चिनियाँ पक्षले अब नाका बन्द नहुने गरी आवतजावत खोलिएको भनेर जानकारी गराएको बताए। सापकोटाका अनुसार सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले जनाएको छ।
‘आज विशेष दिन भएको हुनाले हामीलाई उहाँहरुले स्वागत गर्नुभयो’, सापकोटाले भने, ‘अरु जिल्लाका सर्वसाधारणका लागि पनि क्रमिक रुपमा व्यवस्थित गर्दै पूर्ववत अवस्थामा नाका सुचारु गर्ने नीति रहेको जानकारी दिनुभयो। हामीले नाका खोलेकामा उहाँहरु र चिनियाँ सरकारलाई धन्यवाद दियौँ।’
सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दिप्छेन शेर्पा, भोटेकोशी–२ का वडाअध्यक्ष कुमार श्रेष्ठ, तातोपानी भन्सार प्रमुख दयानन्द केसी, उद्योग बाणिज्य संघ तथा हिमालय सिमापार ट्रक कन्टेनर व्यवासीका प्रतिनिधिहरु पारी गएका थिए।
२०७२ सालमा गएको भूकम्पले तातोपानी नाका भन्सार लगायत संरचनाहरु क्षतिग्रस्त बनेका थिए। चीनकै सहयोगमा तातोपानीमा नयाँ भन्सार कार्यालय बनेको छ।
भूकम्पको चार वर्षपछि २०७६ जेठ दोश्रो साताबाट सामान आयात निर्यात खुलेको थियो। तर कोभिड–१९ महामारीलाई कारण देखाउँदै ०७६ चैत ११ गतेबाट सामान ल्याउन लान पनि बन्द गरिएको थियो।
यसैबीच तातोपानीमा रहेको नेपाली अध्यागमन कार्यालयले पिलिङस्थित मितेरी पुलबाट चीनतर्फ जाने अस्थायी र एक वर्षे स्थायी पास वितरण शुक्रबारदेखि नै थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।