नैनसिंह महर (फाइल तस्बिर) काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चीन सरकारले हालै प्रकाशन गरेको नक्सामा नेपालको नयाँ (चुच्चे) नक्सा नसमेटिएकोप्रति आपत्ति जनाएका छन्। नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई मान्यता नदिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको महरको भनाइ छ।
नेपाल सरकारले कूटनीतिक नोट पठाएर उक्त व्यवहारप्रति विरोध जनाउनुपर्ने महरको मत छ। नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा बोल्दै महरले नेपालसँग सीमा समस्या रहेको कुरा चीनको व्यवहारबाट देखिएको बताए।
‘चीन नेपालको असल छिमेकी हो। तर नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभञ्ज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चीनसँग नेपालको सीमा समस्या रहेको कुरा स्वयम् चीनको व्यवहारबाटै प्रस्ट हुन्छ,’ महरले भने।
भूगोल र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नुपर्ने महरको भनाइ छ।
‘नेपालको सार्वभौम संसद्ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ,’ महरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।