काठमाडाैं– केही समयअघि नेपाल सरकारबाट प्राप्त दुई पदक लिलामीमा राखेका राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले ती पदक बेच्न नपाएपछि विदेशी पदक लिलामीमा राखेका छन्।
वीरगञ्जस्थित कृषि औजार कारखानाका लागि खर्च जुटाउन सरकारबाट प्राप्त पदक लिलामीमा राखेपछि गृह मन्त्रालयले बाेलाएर उनलाई विभूषण ऐन २०६४ अनुसार पदक बेच्न नपाइने सम्झाएको थियाे। त्यसपछि उनले ती पदक गृहलाई नै फिर्ता गर्ने घाेषणा गरेका थिए।
नेपाली पदक बेच्न नपाएपछि पुनले अब विदेशी पदक बिक्रीका लागि लिलामीमा राखेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले तीनवटा विदेशी पदक बिक्रीमा राखेकाे घाेषणा गरेका छन्।
उनले सन् १९९२ मा अमेरिकामा पाएको स्नताक सम्मान मेडल, सन् २००७ मा फिलिपिन्समा पाएको रमन म्याग्सेसे पदक र सन् २०१४ मा अमेरिकामा पाएको इन्टरनेट हल अफ फेम पदक लिलामीमा राखेका हुन्। उनले ती पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुने बताउँदै २० देखि २५ लाख मूल्यसम्ममा किनिदिन आग्रह गरेका हुन्।
वीरगञ्ज कृषि औजार कारखानामा ३०० देखि ५०० केभीए सम्मको एउटा बिजुलीको ट्रान्सफर्मर दसैंभित्र राख्नैपर्ने र तिहारपछि केही औजारहरु उत्पादन सुरु गर्ने योजना भएकाले त्यसका लागि रकम जुटाउन पुरस्कार बिक्रीमा राखिएकाे उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।