काठमाडाैं- काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेको १५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ। बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेन साहले उक्त जानकारी दिएका हुन्।
सुशासनको क्रममा अवैधानिक व्यापार र अवैध संरचनाहरू हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरि उक्त अभियान चलाउन सफल भएको उनले बताए।
उनले उक्त जग्गा संरक्षण गरेकोमा नगर प्रहरीलाई धन्यवाद व्यक्त गरे। यसैगरी उनले पार्किङ व्यवस्थापनमा पनि नगर प्रहरी लागिरहेको उनले बताए।
'काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गालाई संरक्षण गर्ने क्रममा १५० रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु, काठमाडौं महानगरपालिकाका सबै क्षेत्रहरुमा पार्किङको व्यवस्थापन गर्न नगर प्रहरी लागिपरेको थियो,' उनले भने, 'साथसाथै सुशासनको क्रममा अवैधानिक व्यापार, अवैध संरचना हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरी नै यो कुरा निर्णय गर्न सफल हुनुभएको छ।'
उनले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन्। उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे। नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको उनकाे भनाइ थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।