काठमाडौं- नेकपा एमालेले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको बताएको छ।
बुधबार सिरहामा बसेको सचिवालय बैठकले समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले आफूहरूको आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको बताएको हो।
‘यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरुप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ। यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्यांकनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरुप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने संकल्प गर्दछ’, एमालेको निर्णयमा भनिएको छ।
एमालेले बैठक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरुको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन त्यहाँका जनतासँग मिलेर, उनीहरूकै चाहनाअनुरुप विभिन्न पूर्वाधारका कामहरुलाई अगाडि बढाउने प्रण गरेको छ।
एमाले सचिवालय बैठक सिरहाको सर्रे, अम्बासमा बसेको हो। २०४६ सालमा तत्कालीन मालेको चौथो महाधिवेशन आयोजना भएकै घरमा एमालेको सचिवालय बैठक बसेको हो। सो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए।
पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।