काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले १२ बुँदे व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी कार्यान्वयनमा नजाने बताएका छन्। बुधबार उनले एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार नगरेको देखिएको भन्दै स्वीकार नगरेको खण्डमा एमसीसी परियोजना कार्यान्वयनमा नजाने बताएका हुन्।
बुधबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा जान थालेपछि एमसीसीबारे फेरि विवाद चर्किएकको छ। साना दलले त केही दिनअघिबाटै यसबारे विरोध जनाइरहेका छन्।
सत्ताको नेतृत्व गरिरहेकै दल माओवादीका महासचिवले नै व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार नगरेकाले एमसीसी कार्यान्वयनमा नजाने बताएका हुन्।
उनले भनेका छन्, ‘नेपालको संसदबाट १२ बुँदे घोषणासहित एमसीसी सम्झौताको अनुमोदन गरियो। त्यस बेला मन्त्री लगायतका प्रायः सबै नेताहरुले १२ बुँदे घोषणालाई स्वीकार गरि त्यसलाई एमसीसी सम्झौताको अंग बनाईनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदासम्म एमसिसी सम्झौता कार्यन्वयन नहुने भनि संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो। तर आजसम्म अमेरिकी एमसिसी कम्पनीले औपचारिक रुपमा लिखित रुपमा १२ बुँदे स्विकारेको देखिएको छैन।’
१२ बुँदे शर्तबारे कुनै उल्लेख नगरि निरपेक्ष रुपमा एमसिसी परियोजना कार्यान्वयनको कुरा उठाइरहेको उनको भनाइ छ । उनले अघि भनेका छन्, ‘माओवादी केन्द्रको प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसिसी सम्झौताको लिखित अंग नबनाउदासम्म एमसिसी कार्यान्वयन हुन सक्दैन। हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमुल्यन गर्ने अधिकार कोही-कसैलाई छैन।’
यस्तो छ महासचिव गुरुङको भनाइ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।