काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई एसिया कप हेर्न दिनका लागि विद्यालय बन्द गर्न आदेश दिएको छ। बुधबारदेखि सुरु हुने १६औँ एसिया कपको उद्घाटन खेलमा नेपालले आयोजक समूह पाकिस्तानविरुद्ध खेल्दैछ।
नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:१५ देखि हुँदैछ।
नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको अवसरमा उपमहानगरपालिकाले सबै विद्यालय बुधबार दिउँसो २ बजेपछि बन्द गर्ने निर्णय गरेको हो। सीमित स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
‘हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति ऊर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८०:०५:१३ गतेका दिन २:०० बजेपछि कुनै पनि कक्षा संचालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेही लाल यादवले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।