काठमाडौं- एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करणको उद्घाटन खेलमा नेपाली गायिका त्रिशाला गुरुङले आफ्नो प्रस्तुति दिँदैछिन्। बुधबार दिउँसो ३:१५ देखि पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा उद्घाटन खेल हुँदैछ।
त्यसअघि २:१५ देखि उद्घाटन समारोह हुनेछ। उद्घाटन समारोहमा त्रिशालासहित पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिँदैछिन्।
नेपालबाट त्रिशालाले गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य’ गीतसहित प्रस्तुति दिँदैछिन्। जसमा अम्बर गुरुङले संगीत भरेका छन्। अम्बरसहित फत्तेमानको स्वर रहेको उक्त गीत एसिया कपमा गााउनका लागि त्रिशालाले स्वर्गीय अम्बर गुरुङको परिवारसँग अनुमति पनि लिएकी छन्।
यद्यपि, एसिया कपमा त्रिशालाले दिने उक्त प्रस्तुति प्रत्यक्ष प्रसारण भने हुनेछैन। केही अन्तर्राष्ट्रिय प्रसारण नीतिका कारण उक्त गीतको प्रत्यक्ष प्रसारण नहुने जानकारी उनले दिएकी छन्। यद्यपि, पछि उक्त भिडिओ राख्ने भने उनले बताएकी छन्। उनले भनेकी छन्, ‘हामी आज मुल्तान स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेलको उद्घाटन समारोहमा छौं। दुर्भाग्यवश केही अन्तर्राष्ट्रिय प्रसारण नीतिहरूको कारण राष्ट्रिय गीत प्रत्यक्ष प्रसारण हुनेछैन तर हामी पछि अलग्गै भिडिओ पोस्ट गर्नेछौँ।'
नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो। बुधबारको उद्घाटन खेलमा नेपालले आयोजक समूह पाकिस्तानको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।