काठमाडौं- एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करणको उद्घाटन खेलमा नेपाली गायिका त्रिशाला गुरुङले आफ्नो प्रस्तुति दिने भएकी छन्। बुधबार दिउँसो ३:१५ देखि पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा उद्घाटन खेल हुँदैछ। त्यसअघि उद्घाटन समारोह हुनेछ।
समारोहमा १-१ जना नेपाली र पाकिस्तानी गायिकाले आफ्नो प्रस्तुति दिँदैछनन्। २:१५ देखि सुरु हुने उक्त उद्घाटन समारोहमा त्रिशालासहित पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने भएका हुन्।

नेपालबाट त्रिशालाले गोपालप्रासद रिमालको ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो’ गीत गाउनेछिन्। सामाजिक सञ्जालमा उनले उक्त गीत गाउनका लागि संगीतकार स्वर्गीय अम्बर गुरुङको परिवारसँग आधिकारिक अनुमति लिएको जानकारी दिँदै धन्यवाद व्यक्त गरेकी छन्। ‘आज पाकिस्तानको मुल्तान स्टेडियममा टिम नेपाल र सम्पूर्ण नेपाली खेलकुद समुदायका लागि ऐतिहासिक दिन हो। सबैले खेललाई माया गरौँ,’ उनले भनेकी छन्, ‘म यो गीत हाम्रो राष्ट्र र टोलीको लागि प्रस्तुत गर्न पाउँदा धेरै सम्मानित महसुस गर्छु, हाम्रो टोलीलाई हाम्रो हृदयदेखि नै माया र सम्मान छ। यस गजबको रचनाको लागि स्वर्गीय अम्बर गुरुङ सर जो हाम्रो राष्ट्रिय गानका संगीतकार पनि हुनुहुन्छ र उहाँको परिवारलाई पनि मलाई यो गीत गाउन आधिकारिक अनुमति दिनु भएकोमा धन्यवाद।’
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुँदैछन्।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ।बुधबारको डेब्यू खेलमा नेपालले बलियो टोली पाकिस्तानको सामना गर्दैछ।
नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेको हो। अहिले र्याङकिङमा १५औँ नम्बरमा रहेको छ। नेपाल ठूलो सपना हासिल गर्ने लक्ष्यनजिकै देखिन्छ। किनभने सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा १४ देश सहभागी हुनेछन्।
१६ औँ संस्करणको एसिया कप ६ वटा देशले खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।