काठमाडौं– ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतले ५ जना अभियुक्तको बयान लिएको छ।
जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार सोमबार र मंगलबार गरेर ५ जनाको बयान गराइएको हो। सोमबार २ जना र मंगलवार ३ जनाको बयान गरिएको थियो।
जिल्ला अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित शिवजी भट्टराई, इन्द्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजाको बयान सकेको छ।
वुधबार ४ जनाको बयान लिने अदालतको तयारी छ। न्यायाधीश भोलानाथ ढकालको इजलासमा बुधबार धवनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेलको बयान सुरु भएको स्रेस्तेदार ज्ञवालीले बताए।
बाँकी अभियुक्तको शुक्रबार र आइतबार बयान गराएर थुनछेक बहस सुरु गर्ने जिल्ला अदालतको तयारी छ। जिल्ला अदालतले बयानपछि थुनछेकका लागि १ साताको समय लाग्ने अनुमान गरेको छ।
सरकारी लिखत तथा दस्तखत किर्ते गरी सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९० जनालाई प्रतिवादी कायम गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
अभियुक्त बनाइएकामध्ये १८ जनालाई अभियोगपत्रसँगै पेस गरिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेको हो।
सीआईबीले संगठित रुपमा किर्ते गरेको देखिएको भन्दै संगठित अपराधमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। सरकारी वकिलले भने किर्तेमा मात्रै मुद्दा दर्ता गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।