काठमाडौं– जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्।
उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताए। त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दा पनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘जसको घर सिसाको हुन्छ। अरुमाथि ढुंगा चलाउन कोशिस नगरे हुन्छ। प्रभु साह आफैंको धेरै मुद्दाहरु छन्। वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ। अदालतमा छ। सुरक्षित छ। राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ। गौर हत्याकाण्ड दुःखदायी घटना भयो। त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो। उहाँको उक्सावटमा यो घटना भएको हो।’
उनले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। प्रतिवेदनले आफ्ना नेताहरुलाई दोषी देखाएको भए पनि स्वीकार्न तयार रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।