बुटवल- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताएका छन्। समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रिय स्वाधीनतामा सम्झौता नगर्नेगरी विदेशी सहयोग पनि लिने उनको भनाइ थियो। नेपालको राष्ट्रिय हित र स्वाधीनताका लागि अहिले पनि आफू लडिरहेको उनले बताए। संसद्बाट १२ बुँदे व्याख्यात्मक टिप्पणी गरिएको पनि उनले उल्लेख गरे।
समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यक रहेको भन्दै अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको उनले बताए। त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको जानकारी उनले दिए।
तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गर्दै उनले त्यतिबेला आफूहरूले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको पनि बताए।
अहिले गणतन्त्र जनताको बनाउने वा ब्रुजुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै उनले यही फैसला गर्न मोर्चा बनाइएको भनाइ राखे। उनले भने, ‘प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन् तर हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौंँ। अहिलेको लडाइँ यही नै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।