काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पछिल्लो समय धरानलगायत क्षेत्रमा सामाजिक सद्भाव बिथोल्ने गरी विकसित घटानक्रमबारे सबै पक्ष समयमै सचेत हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै पुनले सरकार, राजनीतिक दल तथा धार्मिक–जातीय समुदाय सबै मिलेर परिस्थिति नियन्त्रणबाहिर जान रोक्नुपर्ने उल्लेख गरे। पुनले सरकार, राजनीतिक दल वा धार्मिक समुदायले यसप्रकारका अतिवादलाई प्रश्रय दिन नहुने उल्लेख गरे।
‘आज गणतन्त्र, धर्मनिरपेक्षा, संघीयता र समावेशी समानुपातिक देशका रुपमा र शासन व्यवस्थाका रुपमा हामी सहकार्य गरिराखेका छौं’, पुनले भने, ‘आज विभिन्न प्रकारका अतिवादीहरु देखा परिराखेका छन्। हामी कोही पनि राजनीतिक दल, धार्मिक समुदाय या सामाजिक समुदायले यस प्रकारका अतिवादलाई प्रश्रय दिनु हुँदैन।’
धरान घटनामा सामाजिक सद्भाव बिथोल्ने तथा रानजीतिक सहार्य र सदभाव बिथोल्ने गरी तथ्यहरु तोडमरोड गरिएको जानकारी उनले सदनलाई गराए। नेपाललाई खस आर्य र मंगोलसहित चार फरक महावंशको संगमस्थल भएको चर्चा गर्दै उनले सामाजिक सद्भाव बिथोल्ने काम कसैले पनि गर्न नहुने बताए।
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्नुपर्ने चुनौती राजनीतिक दलहरु र सरकारका सामु खडा भएको उनको भनाइ छ। नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा हामीले संवैधानिक व्यवस्था गरिएको चर्चा गर्दै उनले सद्भाव, समन्वय र सामञ्जस्यता कायम गर्ने दलहरुको प्रतिबद्धताको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।