काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएकी आरजु राणा देउवाले कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउने बताएकी छन्।
सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका थिए। निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन्।
उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन्। कृषि बृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने उनको भनाइ छ।
देउवाले भनिन्, ‘समिति बनेको धेरै त भएको छैन। धेरै ब्रिफिङ लिएर पहिले डिसिजन भइसकेको जस्तो लाग्छ। मन्त्रीले पनि समय दिइरहनुभएको छ। मन्त्रालयका सचिवहरुले पनि ब्रिफिङ गरिरहनुभएको छ। धेरै बृहत कार्य भएको क्षेत्र हो। यो कार्यक्षेत्रमा जति पनि माननियज्युहरु हुनुहुन्छ आफ्नो क्षेत्रमा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ। त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ।’
उनले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।