काठमाडौं– संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित रामहरि खतिवडाले सुन तस्करीसहित प्रकरणमा आफूले समितिमा छलफल गर्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडालाई जिम्मेवारी हस्तान्तरण गरिसकेपछि बोल्दै सभापति खतिवडाले यस्तो बताएका हुन्।
उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। नवनिर्वाचित सभापति खतिवडाले भने, ‘यो समितिमा पनि अब हामी सबैको, पार्टीकोभन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं। म कांग्रेसबाट निर्वाचित भए पनि यो समिति पक्ष, विपक्ष नगरिकन सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौं। मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ।’
उनले समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्नेभन्दा पनि सबैको सल्लाहबाट नै निर्णय गर्ने परिपाटी बसाल्ने प्रतिबद्धता जनाएका छन्। ‘अब यसको कार्यक्षेत्र धेरै ठूलो छ। विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ। वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्त्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौं भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ।’
नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्नेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।