काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई चुनौतीका बीचबाट सही दिशातर्फ ल्याएको बताएका छन्। काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन नेकपा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताहरूका कारण कठिन अवस्थामा पुगेको बताए।
उनले पद प्राप्त नभएका कारण उनीहरूले आफूलाई अप्ठ्यारोमा पारेको आरोप लगाए। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल र घनश्याम भूसालको नाम लिँदै उनले एकछिन, एकलपल्ट मन्त्री भएन भने बटारिहाल्ने गरेको टिप्पणी गरे।
‘अहिले पार्टी... हामी गर्व गर्नसक्छौँ देश दुनियाँको सारा शक्ति लागेर... पार्टीभित्र विचार गर्नु त के हालत थियो। मेरो दाहिनेपट्टी प्रचण्ड। देव्रेपट्टी माधव नेपाल, अलि पल्तिर झलनाथ खनाल, अलि पल्तिर बामदेव गौतम, अलि पल्तिर भीम रावल, अलि पल्तिर अर्को... अर्को घनश्याम भूसाल.. माथि पुगेपछि प्राय: मान्छेहरू मलाई पुगेन, खान पाइनँ, मुख खालि भयो यस्तै कुरा गर्छन्।’
उनले कार्यकर्ताहरूले त्यस्तो भन्ने नेतालाई ‘तिमीहरूको मुख एकछिन खालि हुन नहुने’ भन्दिनुपर्ने बताए।
तल कार्यकर्ता र मतदाता ठीक रहेको तर माथि नेताहरू गलत भएको भन्दै उनले त्यसलाई सच्चाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।