काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी)को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका हुन्।
उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे। सीमानासँग जोडिएका विषयवस्तुहरु चुनौतीको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु आइसकेका छन्। केही जल्दाबल्दा विषयहरु छन्। एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन? भन्नेबारेमा पनि कुरा उठिसकेको छ। हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरु पनि आएका छन्। सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरु छन्। संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।