काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन्। सोमबार सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताए।
अदालतका सबै काम-कारबाही प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने उनको भनाइ थियो। उनले अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नसक्ने विश्वास व्यक्त गरे। स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उनले बताए। अदालतमा सुधारको काम अघि बढिसकेको र अझै सुधार हुँदै जाने बताए।
‘यसले (स्वचालित पेसी तारेख प्रणाली) कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडी बढेको जस्तो लाग्दछ, पेसी व्यवस्थापन कडी हो यो,' उनले भने, 'तारेखसम्म सुधार गर्यौँ हामीले। अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभुति मलाई भएको छ।’
उहाँले स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताए। भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको जानकारी पनि उनले दिए। यो प्रणालीलाई आगामी दिनमा काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।