राप्रपाबाट विकास समितिको सभापति बन्ने भनिएका सांसद दीपक सिंह (फाइल तस्बिर)
काठमाडौं– माओवादी केन्द्रले सभापति पाउने भनिएको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाउने भएको छ। सो समितिको सभापति माओवादी केन्द्रका तर्फबाट माधव सापकोटाले पाउने भनेर आन्तरिक टुंगो लागेको थियो। तर अब राप्रपाले पाउने भएको सापकोटाले नेपाल लाइभलाई बताए।
‘विकास समितिको सभापति अब राप्रपाले पाउने भएको छ,’ उनले भने, ‘राप्रपाबाट दीपक सिंह सभापति बन्नुहुन्छ।’
सापकोटाका अनुसार कोशी प्रदेशको समस्या समाधानमा राप्रपाले सघाउने र राप्रपाले विकास समितिको सभापति पाउने समझदारी भएको हो।
कोशी प्रदेशमा कांग्रेसबाट दोस्रो पटक मुख्यमन्त्री बनेका उद्धव थापाले यसअघि पाएको विश्वासको मत विवादमा परेको थियो। सर्वोच्च अदालतले पनि अन्तरिम आदेशमार्फत् संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको भनेको छ।
त्यहाँ सत्ता गठबन्धनका ४७ सांसद भए पनि सभाको अध्यक्षता पनि सोही पक्षले गर्ने परिस्थितिमा सहज बहुमत पुग्दैन। त्यसैले गठबन्धनले राप्रपाको साथ पाउने प्रयत्न गरिरहेको थियो। तर राप्रपाले नसघाउने निष्कर्षमा पुगेपछि मुख्यमन्त्री थापाले भदौ ४ मा विवादास्पद ढंगले विश्वासको मत लिएका थिए।
विकास समितिको सभापति पाउने भनिएका सिंह मकवानपुरबाट निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।