काठमाडौं– ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेसम्बन्धी मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। तर सीआईबीले गरेको सिफारिसअनुसार सरकारी वकिलले संगठितको अपराधमा भने मुद्दा दर्ता गरेन।
सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको बनाएको अभियोगमा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो।
मुद्दा दर्ता गरिएकामध्ये ५२ जनालाई भने जग्गा जफत प्रयोजनका लागि भन्दै प्रतिवादी बनाइएको छ।
सरकारी वकिलले सरकारी दस्तखत तथा लिखत किर्तेको कसुरमा संलग्न भएको देखिएका सर्वसाधारणविरुद्ध १ वर्ष कैद सजाय मागदाबी गरेको छ। सरकारी अधिकारी (अधिकृतदेखि सचिव) र मन्त्रीहरुलाई २ वर्ष कैदको सजाय मागदाबी गरिएको छ।
संगठित रुपमा सरकारी लिखत तथा दस्तखत किर्ते गरी १४३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने काम भएको निष्कर्षसहित सीआईबीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सीआईबीले संगठित अपराध र किर्तेको कसुरमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।