प्रतिकात्मक तस्बिर
बैतडी– तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशी भन्छन्, ‘दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी संक्रमित पनि भेटिएका छन्।’
पहाडमा पनि डेंगु संक्रमण बढ्दै गएको र संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘यहाँ पनि डेंगु संक्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।’
डेंगु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन्। यसका साथै गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट–खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ।
डेंगु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए। वर्षात्मा दैनिक डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमण ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेंगु संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।
निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ। यस्तै अगस्ट महिनामा भने डेंगु संक्रमण ह्वात्तै बढेको पाइएको छ। अगस्तको हालसम्म दुई सय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। सुदूरपश्चिममा सन् २०२३ को हालसम्म ५४० जनामा संक्रमण पुष्टि भइसकेको छ।
जोशीले भने, ‘अरु महिनाभन्दा यो अगस्त महिनामा डेंगु संक्रमितको सङ्ख्या अधिक बढेको पाइएको छ। गर्मी र वर्षात्को समय रहेकाले यो सङ्ख्या बढेको हो।’
यसअघि सन् २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५ जनामा संक्रमण देखापरेको थियो। प्रदेशको तथ्याङ्कअनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा १९४ जनामा संक्रमण पुष्टि भइसकेको छ। कैलालीमा १२५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझाङमा १२, डडेलधुरामा ९ र बैतडीमा ६ जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन।
गत वर्ष यस प्रदेशमा १ हजार २८९ जनामा संक्रमण देखिएकामा ४ जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढ्न थालेको जोशीले बताए। उनले भने, ‘डेंगुको जोखिम कात्तिकसम्ममै रहन्छ। वर्षात्को समयमा लामखुट्टे उत्पादन बढी हुने र यसको टोकाइबाट संक्रमण पनि हुन जान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।