काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत क्षेत्रको निरीक्षण गरेका छन्।
अविरल वर्षाका कारण बाटो अवरुद्ध भए पनि त्यहाँको वस्तुस्थिति बुझ्न र स्थानीयबासीलाई सान्त्वना दिन मन्त्री बस्नेतले हेलिकप्टरबाट शनिबार सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायतका क्षेत्रको निरीक्षण गरेका हुन्। मन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि हुन्।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरु, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगायत केही घरहरुमा बाढीले क्षति पुर्याएको छ।
मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। बाढीप्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री बस्नेतले बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेश राज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरीलगायतका नेताहरूलाई पनि त्यहाँ खटाइएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।