काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा सामाजिक, धार्मिक र राजनीतिक सद्भावका लागि अपिल गरेका छन्। शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।
उनले धार्मिक सामाजिक र राजनीतिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले यसबाट उत्पन्न हुने अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरुलाई सहयोग मात्र पुग्ने भएकाले सबै संयम हुन अनुरोध गरेका छन्।
पूर्व प्रधाानमन्त्रीसमेत रहेका देउवाले भनेका छन्, ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।’
देउवाले नेपालमा परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेकाले कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याइ धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको बताएका छन्।
उनले धरानको संवेदनशीलतालाई विचार गरेर सबै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्थालाई सद्भाव कायम राख्न एकजुट हुन अपिलसमेत गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।