काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए।
समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न उनले आग्रह गरे। जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उनको भनाइ थियो।
उनले कानुनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न आग्रह गरे। सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।