काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ।
नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसद्बाट पास भए पनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका हुन्।
शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे।
नेता गजुरेलले श्रीलंका सरकारले पनि संसद्बाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे। उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने चेतावनी दिए। नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँ–ठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।