काठमाडाैं- राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगले अपिल गरेकाे छ। शनिबार विज्ञप्ति जारी गर्दै आयोगले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति ध्यानार्षण भएकाे जनाउँदै सामाजिक सद्भाव कायम राख्न अनुराेध गरेकाे हाे।
आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन पनि गरिरहेकाे प्रवक्ता टीकाराम पाेखरेलले जानकारी दिएका छन्। धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, साँस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने संभावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरु रोकिएको आयोगले अनुगमनको क्रममा बुझिएको जनाएकाे छ।
नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने भनेकाेमा संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउन अपिल आयोगले गरेकाे छ।
साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै सामाजिक सद्भाव कायम राख्न अनुराेध आयोगले गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।