काठमाडौं– पछिल्लो समय सुनसरीको धरान केन्द्रित भएर बढेका साम्प्रदायिक गतिविधिप्रति राजनीतिक दलका नेताहरुले चासो व्यक्त गरेका छन्। प्रमुख दलसहित धरानमा सक्रिय राजनीतिक दलका नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्भाव विथोलिने कुनै पनि गतिविध नगर्न सबैमा आग्रह गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १३ राजनीतिक दलहरुले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै साम्प्रदायिक उद्देश्यबाट प्रेरित भएर शनिबारका लागि निर्धारण भएका कार्यक्रमहरु स्थगित गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।
विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहको भन्दै दलहरुले सामाजिक सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति सवैलाई सजग हुन आग्रह गरेका छन्। नेपाली समाजको बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्न साझा विज्ञप्तिमा आग्रह गरिएको छ।
धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयहरुलाई सर्वपक्षीय, सर्वदलीय वार्ता तथा संवादवाट समाधान गर्न प्रतिबद्ध रहेको पनि दलहरुले जनाएका छन्।

धरानमा सम्बन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था मिलाउन पनि उनीहरुले अनुरोध गरेका छन्।
पछिल्लो समय धरानमा गोरु काटेर खाएको तथा मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दुवादी संघ, संगठनहरुले विरोध जनाउँदै आएका छन्। हिन्दुवादी संघ, संगठनले शनिबार धरानमा विरोध कार्यक्रम आयोजना गर्न लागेको समेत सामाजिक सञ्जालमा चर्चा छ।
हिन्दुवादी संगठनले गर्ने कार्यक्रम र उक्त कार्यक्रमलाई लिएर हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा समेत घोषणा गरेको छ। शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अनावश्यक हिँडडुल तथा भेला गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।