काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन्। तर आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ।
माओवादी केन्द्रले शुक्रबार ललितपुरमा आयोयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए।
‘प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन्। तर अधिकांश आम जनताहरू यो अभियानबाट खुसी भएका छन्। लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ गृहमन्त्री श्रेष्ठले भने।
उनले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाइने बताए। ‘भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ। सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ।’
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ। उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।