काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्युजियम बनाउने भएको छ। वि.स. १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलो पटक भारतको जयनगरदेखि नेपालको महोत्तरीस्थित बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो। नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्युजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन्।
‘जनकनन्दनीको खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन्। ती रेलहरू राखेर म्युजियम बनाउने तयारीमा छौँ’ मन्त्री ज्वालाले भने, ‘१० कठ्ठा क्षेत्रफलभित्र म्युजियम बन्दैछ।’
यसै वर्षभित्र म्युजियम निर्माणको काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिएका छन्।
केही समयअघि मन्त्री ज्वालाले म्युजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण गरेका थिए। भ्रमणलगत्तै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गरेका थिए। छलफल म्युजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए।
ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो। फर्किँदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो। ती इन्जिनहरूको गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरीलगायत नाममा नेपाली नामकरण पनि गरिएको छ।
मन्त्रालयले म्युजियम निर्माणस्थल अध्ययनका एक प्राविधिक टोली पठाउँदैछ। रेल्बेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।