काठमाडौं– बिहीबार बिहानदेखि भइरहेको वर्षा रोकिएको छैन। अविरल पानी पर्दा घर बाहिर निस्किन सकिने अवस्था छैन। तर घर नै बाढीले बगाउने जोखिम बढेको छ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ। माथिल्लो क्षेत्रमा आएको बाढीले मेलम्ची नदीमा जलसतह बढेको छ। १ वर्ष अगाडि मेलम्चीमा आएको बाढीको कहर खेपेका मेलम्ची र हेलम्बु बजारका बासिन्दा पुन: त्यस्तै अवस्था आउने हो कि भन्ने भयमा छन्।

बाढीले क्षति पुर्याएको हेलम्बु गाउँपालिकाको ग्याल्थुम र मेलम्ची नगरपालिकाका बजारमा थप क्षति पुगेको स्थानीयले जनाएका छन्। बाढीका कारण मेलम्ची–हेलम्बु सडक बन्द भएको छ।
हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्य अघि बढाइए पनि निरन्तर वर्षाको कारण सम्भव भएको छैन। शुक्रबार मेलम्ची नदीमा जलसतह पुन: बढेपछि सडकमा थप क्षति पुगेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

बाढीका कारण मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको छ। मेलम्चीबाट सदरमुकाम चौतारा जाने सडकको बेलिब्रिज पनि जोखिममा परेको छ। हालै मात्र हालिएको उक्त बेलिब्रिजको पिल्लरमा बाढीले क्षति पुर्याएको छ।
बाढीले हेलम्बु गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ। बाढीले विद्यालयको कक्षाकोठामा समेत क्षति पुगेको छ। बाढीले हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेको घर पनि जोखिममा परेको छ।

बाढीले क्षति पुर्याएपछि सरस्वती माध्यमिम विद्यालयका सामानहरु अन्यत्र सार्न थालिएको छ। ‘अहिले विद्यालयका फर्निचर लगायतका सामान सार्ने काम भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष शेर्पाले भने।
अध्यक्ष शेर्पाका अनुसार मेलम्चीको जलाधार क्षेत्र भ्रेमाथान लगायतमा अहिले पनि वर्षा भइरहेको छ। जलाधार क्षेत्रमा वर्षा जारी रहेकाले मलम्चीको जलसतह अझै बढ्ने सम्भावना रहेको उनी बताउँछन्। ‘बाढी बढ्दै गएमा ग्याल्थुम, चनौटे लगायतका गाउँहरुमा पनि क्षति पुग्ने देखिन्छ,’ अध्यक्ष शेर्पाले भने।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।