काठमाडौं– शिव शिखर बहुउदेश्यीय सहकारीले काठमाडौं उपत्यकाबाट मात्रै ७८ करोड रुपैयाँ भन्दा बढी ठगेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको लामो अनुसन्धानबाट यो सहकारीका सञ्चालक केदारनाथ शर्माले उक्त रकम ठगी गरेको खुलेको हो।
काठमाडौंमा मात्रै यो सहकारीका २१ हजार ३६९ सदस्य छन्। उनीहरुले सहकारीकामा २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ बचत गरेको देखिएको छ। उक्त रकममध्ये १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ शर्मासहितका व्यक्तिले हिनामिना गरी ठगी गरेको खुलेको हो।
काठमाडौंबाट मात्रै ७८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेपछि सोही अनुसारको मागदाबी गर्दै ठगी तथा संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। सीआईबीले लामो अनुसन्धानपछि फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो। सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ।
यो ठगी प्रकरणमा सहकारीका सञ्चालक तथा निवर्तमान अध्यक्ष काठमाडौं महानगरपालिका–४ सुकेधारा घर भएका केदारनाथ शर्मा, शर्माकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य ३९ वर्षीय रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक ४५ वर्षीया रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर ३५ वर्षीय पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई पक्राउ गरी प्रतिवादी बनाइएको छ।
उनीहरुमध्ये गीता, पुस्कर र अमिश भने यसअघि नै सहकारीको अर्को ठगी प्रकरणमा पक्राउ परेर अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।
त्यसैगरी संस्थाको भक्तपुर सञ्चालक समितिका अध्यक्ष ३७ वर्षीय सुशील बानियाँ, संस्थाका सचिव तथा गोरखा टि एण्ड कफीका अध्यक्ष ४४ वर्षीय तेजबहादुर तामाङ, संस्थाका सदस्य ३६ वर्षीय राजु शाखकर्मी, सदस्य ३४ वर्षीय दीपक बहादुर ऐर, संस्थाका व्यवस्थापक ५१ वर्षीय लिलानाथ गौतम, संस्थाका उपाध्यक्ष ४९ वर्षीय भोजराज पौडेल, लेखा समितिका पदाधिकारी ४५ वर्षीय शुदर्शन कपाली, ४१ वर्षीय प्रदीप भट्टराई, संस्थाको ऋण अधिकृत ४४ वर्षीय त्रिचन्द्र सुवेदी, लेखासुपरीक्षण समितिका सदस्य ३८ वर्षीय कुमार श्रेष्ठ, लेखा अधिकृत ४० वर्षीया शमिना श्रेष्ठ, ऋण अधिकृत ३५ वर्षीय बालमुकुन्द कपालीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
यो ठगी प्रकरणका मुख्य नाइके केदार शर्मालाई सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो। उनलाई असार १२ गते मुम्बईबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान गरिएको थियो।
यो सहकारीले काठमाडौंमा मात्र नभइ देशका विभिन्न जिल्लाहरुमा समेत ठूलो रकम ठगी गरेको खुलेको छ। देशका मुख्य शहरहरुमा शाखा रहेको यो सहकारीले अर्बौं रकम ठगेको भन्दै अन्य ठाउँहरुमा समेत उजुरी परिरहेको छ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न शहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको थियो। अन्य ठाउँका हकमा पनि अनुसन्धान भइरहेको छ। अन्य ठाउँको ठगीको बारेमा छुट्टै मुद्दा चल्ने बताइएको छ।
नेपालभर यो सहकारीका १ लाख ६८ हजार ७२५ बचतकर्ता छन्। उनीहरुबाट १० अर्ब २९ करोड २९ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम यो सहकारीले संकलन गरी घोटाला गरेको पाइएको छ। यसरी बचतकर्ताबाट संकलन गरिएको रकम सञ्चालक तथा अध्यक्ष शर्मासहितका व्यक्तिले बिना धितो आफूखुसी लैजाने, विभिन्न ठाउँमा लगानी गर्ने गरेको पाइएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए।
शिखर अर्गनाइजेन लिमिटेड मातहत ३० वटा कम्पनीहरु सञ्चालनमा छन्। उपकार मिडिया, गोरखा टि एण्ड कफी, ब्रिटिस गोर्खा गोल्डेन प्रालि, गोरखा बेभरेज, गोरखा शप एण्ड केमिकल इन्डस्ट्रिज प्रालि, पेट्रोल पम्प, गार्डेन मार्ट र उद्योग खोल्न भन्दै जग्गा खरिद गर्ने तथा लगानी गरेर बचतकर्ताको रकम हिनामिना गरेको निष्कर्ष सीआईबीको छ।
शिव शिखर सहकारीबाट ठगिएका बचतकर्ताहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।