काठमाडौं- नेकपा एकीकृत समाजवादीले माघ १४ गतेदेखि १८ गतेसम्म प्रथम राष्ट्रिय महाधिवेशन गर्ने मिति तोकेको छ। काठमाडौंमा सञ्चालन भइरहेको पार्टीको छैटौं पूर्ण बैठकबाट बिहीबार महाधिवेशनको मिति तोकिएको हो।
बैठकले आगामी असोजमा एक महिना पार्टीका मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने पनि निर्णय गरेको छ। उक्त अभियानको विस्तृत योजना सचिवालयले तयार गर्नेछ।
पार्टीमा युवाविद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अगावै युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने र कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोकिने बताइएको छ।
मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडामा कमिटी गठन गर्ने र सबै कमिटीहरूले सदस्यताको वितरण गर्ने तयारी पार्टीले गरेको छ।
महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा आवद्ध नेताको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिइएको छ भने सचिवालयले नै महाधिवेशनको स्थान तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।