काठमाडौं- नेपाली कांग्रेसका आठ नेताले वक्तव्य जारी गर्दै भ्रष्टाचार काण्डमा अनुसन्धानरत प्रहरीको सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तो कदमले नागरिक तहमै प्रश्न उठेको उनीहरुको भनाइ छ।
नेपाली कांग्रेस रुपान्तरण अभियानका तर्फबाट ८ नेताद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ। यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन।'
हालै सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सम्बन्धमा अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीलाई सरुवा गरेको थियो।
विज्ञप्तिमा कांग्रेस ८ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको नेपालको पुरानो प्रजातान्त्रिक राजनीतिक दल भएको भन्दै सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल साबित गर्नु पर्ने भनिएको छ।
गुरुराज घिमिरे- कोशी प्रदेश, रञ्जित कर्ण- मधेस प्रदेश, मधु आचार्य- बागमती प्रदेश, देवराज चालिसे- गण्डकी प्रदेश, गोबिन्दराज पोख्रेल- लुम्बिनी प्रदेश, भूपेन्द्रजङ्ग शाही- कर्णाली प्रदेश, भरतबहादुर खड्का- सुदूरपश्चिम प्रदेश र सुवास लोहनी- डायस्पोराले विज्ञप्ति जारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।