काठमाडौं- अनलाइनमा भएको कुराकानीलाई विश्वास गर्दा एक युवाले १० लाख रुपैयाँ गुमाएका छन्। दोर्जे लामा नाम गरेका ती व्यक्ति सामाजिक सञ्जालमा भएको कुराकानीमा विश्वासमा पर्दा ठगिएका हुन्।
दोर्जेको आफ्नो टिकटक आईडीमा माया एटिकस०४ नाम गरेको आईडीबाट रिक्वेस्ट आएको थियो। त्यसपछि साथी बनेका उनीहरुबीच कुराकानी भयो। कुराकानीका क्रममा ती व्यक्तिले आफू इन्डोनेसियन नागरिक रहेको र युकेमा बस्दै आएको बताएका थिए।
आफ्नो नामा माया एटिकस र श्रीमान् नेपाली भए पनि ब्रिटिसको सरकारी नोकरी गर्ने क्रममा मृत्यु भएको बताएका थिए। सन् २०१८ मा श्रीमान्को मृत्यु भएको र आफू पनि क्यान्सरपीडित भएको दोर्जेलाई ती व्यक्तिले बताएका थिए।
श्रीमान्को इच्छा नेपाली दु:खी-गरिबहरुलाई सेवा गर्ने रहे पनि सेवा गर्न नपाउँदै बितेको र बित्नुभन्दा पहिला आफूसँग नेपाली गरिब-दु:खीलाई सेवा गर्नु भनेको भन्दै दोर्जेलाई सुनाए।
‘श्रीमान्ले कमाएको ४.७ मिलियन डरलमध्ये २ मिलियन डलर (२६ करोड ५८ लाख भन्दा बढी) डेम्लोमेटिक एजेन्टमार्फत नेपालमा पठाउने र त्यसको ३० प्रतिशत राखेर बाँकी सहयोग गर्नू,’ दोर्जेलाई ती व्यक्तिले बताएका थिए।
त्यसपछि दोर्जेले उक्त कुरामा सहमति जनाएका थिए। उनले केही समयअघि उक्त रकम पठाएको छु, डेप्लोमेटिक एजेन्टको नाम कार्ल जोनाथन हो र उनको ह्वाट्स एपमा सम्पर्क गर्नू भन्दै ह्वाट्स एप नम्बर पठाए।
त्यसपछि जोनाथनसँग सम्पर्क गर्ने क्रममा उनले रकम आएको त्यसका लागि विभिन्न डकुमेन्टेसन गर्नुपर्ने, राजश्व लगायत विभिन्न खर्च लान्ने भन्दै रकम माग गरेका थिए। उक्त रकम अमरबहादुर बोहराको खातामा जम्मा गरिदिनू भन्दै उनको खाता नम्बर समेत दिएका थिए।
सोही अनुसार दोर्जेले पटकपटक गरेर बोहराको खातामा १० लाख रुपैयाँ जम्मा गरेपछि रकम पठाएको छु भन्ने व्यक्ति सम्पर्कबिहीन भएका थिए। त्यसपछि आफू ठगिएको भन्दै दोर्जेले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए।
दार्जेलाई आफू इन्डोनेसिन नागरिक रहेको, श्रीमान् बितेको भन्दै गफ गर्ने व्यक्ति र डेप्लोमेटिक एजेन्ट बनेका व्यक्ति को हुन् भन्नेबारे प्रहरीले खुलाउन सकेन। त्यसपछि अहिले रकम जम्मा गरिएका व्यक्ति कैलालीको टीकापुर नगरपालिका–४ का ४० वर्षीय अमरबहादुर बोहराविरुद्ध ठगीको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। बोहरा पनि अहिलेसम्म फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।