काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अभियुक्तहरुलाई म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पुर्याइएको छ। अहिलेसम्म पक्राउ परेकाहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि ल्याएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए।
सरकारी वकिल कार्यालयको सिफारिसपछि जिल्ला अदालतले उनीहरुलाई थप हिरासतमा राख्नका लागि अनुमति दिनेछ।
यसैगरी सीआईबीले आज सोमबार पनि यो प्रकरणको फाइल नबुझाउने भएको छ। थप डकुमेन्टेसनको काम बाँकी रहेकाले आज फाइल बुझाउन सम्भव नभएको भन्ने जानकारी आएको नेउपानेले नेपाल लाइभलाई जानकारी दिए।
ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा ४०६ भन्दा बढी पक्राउ पुर्जी जारी भएको छ। यो प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराई र माधवकुमार नेपालसँग आइतबार राति बयान समेत लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।