इलाम- इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करीब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ।
देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको तीनवटा सटरसहितका घर जल्दा सो मूल्य बराबरको धनमाल क्षति भएको हो।
बेलुका शुरु भएको आगलागी ११ बजे पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ताचप्पल र शृङ्गार सामग्री पसल र तिलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ।
आगलागीमा दुईवटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले बताए। पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीयबासीको भनाइ थियो। आगो नियन्त्रणका लागि आएको इलाम नगरपालिकाको दमकल मेची राजमार्गको पुवाखोलामाथि मिलगोलाई भन्ने स्थानमा बिग्रिएर जान सकेन। आगलागीबाट भएको क्षतिको एकिन विवरण आइनसकेको र मानवीय क्षति पनि नभएको स्थानीय प्रहरीले जनाएको छ। मेची राजमार्गसँगै जोडिएको उक्त बजारमा करीब दुई वर्ष अगाडि आगलागी हुँदा केही घर जलेर नष्ट भएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।