काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–९ सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले १७५ जना बचतकर्ताको साढे ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ।
२०६५ सालमा स्थापना भएर सञ्चालनमा आएको यो सहकारीका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ ठगी गरेको सार्वजनिक भएको हो।
यो ठगी प्रकरणमा सहकारीको सञ्चालक समितिका अध्यक्ष ४९ वर्षीय दलबहादुर आले पक्राउ परेका छन्। सञ्चालक समितिका १५ जना भने फरार छन्।
फरार हुनेहरुमा उपाध्क्ष लिलाधर सापकोटा, सचिव राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सदस्य अनिल शर्मा, व्यवस्थापक कविता गुरुङ, सदस्य कोपिला राना, सदस्य अरुण कुमार खनाल, सदस्य विष्णुप्रसाद खनाल, सदस्य हरि श्रेष्ठ छन्।
त्यसैगरी लेखा समितिका संयोजक दीपक थापा, लेखा समितिका सदस्य शिवमाया श्रेष्ठ, लेखा समितिका सदस्य यमप्रसाद अधिकारी, पूर्वसदस्य योगराज गुरुङ, राजकुमार श्रेष्ठ र पूर्वसदस्य लक्ष्मण थापा क्षेत्री फरार छन्। उनीहरु सबैलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लामो अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा पठाएको थियो। अहिले उनीहरु सबैलाई प्रतिवादी बनाउँदै साढे ११ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी गर्दै सहकारी ठगी कसुरमा मुद्दा दायर गरिएको छ।
यो सहकारीले आकर्षक ब्याज दिने भन्दै बचतकर्तालाई रकम बचत गर्न लगाएको थियो। पछि बचत गरिएको रकम समेत माग गर्दा नपाएपछि उनीहरु सीआईबीको सम्पर्कमा पुगेका थिए।
सञ्चालकहरुले सहकारीमा जम्मा भएको रकम हिनामिना गर्ने र आफूखुसी चलाएर घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको छ।
यो सहकारीले विगत ५ वर्षदेखि वित्तीय विवरणहरु समेत किर्ते गरेको पाइएको सीआईबीको अनुसन्धानले औंल्याएको छ।
वर्षौंसम्म साधारण सभा समेत नगरी ठगी प्रक्रियाको ढाकछोप समेत गरिएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।