काठमाडौं– नायक तथा निर्माता हसनराजा खानले नयाँ फिल्म ‘प्रस्थान’ निर्माण गर्ने भएका छन्। वैदेशिक रोजगारीको कथामा उनले यो फिल्म निर्माण गर्न लागेका हुन्।
अमेरिकामा आयोजना भएको ‘छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा उनले ‘प्रस्थान’ फिल्म बनाउने घोषणा गरे। उक्त अवार्ड समारोहमा पुरस्कार वितरण गर्न पुगेका हसनले फिल्म ‘रोमियो’पछि ‘प्रस्थान’को काम अगाडि बढाएको बताएका हुन्।
यो फिल्मको छायांकन दुबई र नेपालमा हुनेछ। हसन लामो समयदेखि व्यवसायको सिलसिलामा दुबईमा छन्। यो फिल्मको निर्माणमा दुबईको कम्पनी किव्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ।
वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने नेपालीहरूको कथामा बन्ने फिल्मलाई ३ करोड बजेटमा तयार गर्ने हसनले बताए। उनका अनुसार, फिल्मलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी गरिएको छ। फिल्मको निर्देशन समेत हसनले नै गर्नेछन्।
हसनले यसअघि नायक आर्यन सिग्देललाई लिएर फिल्म ‘अलविदा’ निर्माण गरेका थिए। यस्तै, फिल्म ‘रोमियो’मा उनले निर्माण तथा अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।