काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस देखिएको हो।
अझ यो सुरुवाती मापन मात्र हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेको मापनमा देखिनेछ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ। यद्यपि कहिलेकाहीँ त्यही कायम पनि रहन्छ।
हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस थियो। तथापि आजको न्यूनतम तापक्रम काठमाडौँका लागि यस वर्ष अहिलेसम्मकै कम भने होइन।
मौसमविद् दाहालका अनुसार यसअघि अक्टोबर २८ तारिखमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा झरेको थियो।
हाल काठमाडौँ उपत्यकासहित देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।