पर्सा- नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो।
वीरगन्जको घडीअर्वा र माइस्थान चोकमा हुण्डी काराबार भएको सूचनाका आधारमा कारबाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक दुई जना भारतीय र तीन नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
अवैध कारोबारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगन्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँ पक्राउ परेका हुन्।
पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य काराबारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिए।
उनले आइतबार अपराह्न प्रहरीले गरेको छापामारीका क्रममा ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको मध्ये तीनको संलग्नता कारोवारमा नदेखिएपछि उनलाई छाडिएको बताए।
बरामद गरिएको रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।