काठमाडौं– अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को यतिबेला एक्सन दृश्यको छायांकन भइरहेको छ। काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माणपक्षले क्लाइमेक्सका दृश्यहरू खिचिरहेको छ।
फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन्। हरि लामा घलेको छायांकनमा तयार भइरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन्। फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ। फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ।
अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन्।
फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए। उनले भने, ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौँ। दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ।’
फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी अभिनेत्री पूजा शर्माले भनिन्, ‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन। मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु।’
फिल्म ‘दान्भी’को प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्ममा पूजाको साथमा अभिनेता कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्।फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।