राजविराज– अर्थमन्त्री युवराज खतिवडाले सोमबार सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन्।
विद्युत, पानी, सुरक्षालगात आधारभुत पूर्वाधार समेत नभएका कारण उद्योग सञ्चालमा समस्या परेको गुनासो बढरहेका बेला खतिवडाले औद्योगिक क्षेत्रको निरिक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको समस्याका विषयमा चासो व्यक्त गरेका छन्। उद्योगी/व्यवसायीले अन्य आधारभूत समस्यासँगै सुरक्षा चुनौती बढेको बताए। मुलुकका अन्य क्षेत्रमा औद्योगिक सुरक्षाबलको व्यवस्था भएपनि सप्तरीमा त्यो व्यवस्था नहुँदा उद्योग/व्यवसाय सञ्चालनमा समस्या परेको उनीहरूको गुनासो छ।
मन्त्री खतिवडाले औद्योगिक क्षेत्रमा सुरक्षा चुनौतीको विषयलाई गम्भीरतापूर्वक लिँदै चासो व्यक्त गरे। ‘औद्योगिक क्षेत्रलाई आन्तरिक वा बाह्य सुरक्षा खतरा छ’ भन्दै उनले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरूसँग जिज्ञासा राखेका थिए।
औद्योगिक क्षेत्रको अव्यवस्था र अस्तव्यस्तता विरुद्ध भदौको पहिलो साता उद्योगी/व्यसायीले आन्दोलन गरेका थिए। सरकारी उपेक्षा र रेखदेखको अभावमा औद्योगिक क्षेत्र लथालिंग भएको भन्दै उद्योग क्षेत्र कार्यालयमा तालाबन्दी गरिएको थियो।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भदौ १५ भित्र समस्याको समाधान खोज्न सामूहिक पहल गर्ने भएको लिखित सहमतिपछि तेस्रो दिन कार्यालयमा लागेको ताला खोलिएको थिायो। तर, सहमति अनुसार काम र औद्योगिक क्षेत्रको समस्या भने समाधान भएको छैन।
नियमित विद्युत आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था, गत वर्ष बाढीले भत्काएको पर्खाल (कम्पाउन्ड वाल) निर्माण, सामान्य वर्षामा पनि औद्योगिक क्षेत्र डुबानमा पर्ने समस्या सामाधान गर्न पानीको निकासका लागि उचित व्यवस्था, पानीका लागि बोरिङ्गको व्यवस्था, औद्योगिक सुरक्षा बलको व्यवस्था तथा उद्योगमा बाढी पसेर उपकरणहरूमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित यो औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। सप्तरी सदरमुकाम राजविराजबाट चार किलोमिटर उत्तर रुपनी गाउँपालिकामा अवस्थित यो औद्योगिक क्षेत्र झन्डै २२ बिघा (२ सय ९४ रोपनी) क्षेत्रफलमा फैलिएको छ।
औद्योगिक क्षेत्रमा १० वटा उद्योग सञ्चालन गर्नसक्ने क्षमता छ। हाल कोशी पोलीमर्स, मिलन डेरी, कृष्णा खाद्य, महालक्ष्मी र पद्य ज्योति प्लाष्टिक उद्योग गरी ५ वटा उद्योग मात्र सञ्चालनमा छन्।
औद्योगिक क्षेत्रमा बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत, टेलिफोन लगायतका सम्पुर्ण सुविधा उपलब्ध भएपनि हाल सञ्चालनमा छैनन्।
आन्तरिक राजस्व कार्यालय उद्घाटन गर्ने
मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको निरीक्षणपछि छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवती मन्दिर दर्शनका लागि निस्किएका छन्। उनले आजै राजविराज ६ स्थित आन्तरिक राजस्व कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ।
यसअघि आन्तरिक राजस्व कार्यालय नहुँदा सप्तरीका उद्योगी व्यवसायीले सिरहाको लहानबाट सेवा लिदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।