काठमाडौं- ‘इट इज बेटर द्यान टेन गिल्टी पर्सन्स इस्केप, द्यान द्याट वान इनोसेन्ट सफर (१० जना अपराधी छुटून् तर एउटै इमानदार व्यक्ति नफसोस्)'
ब्रिटिस विधिशास्त्री विलियम ब्ल्याकस्टोनले सन् १७६९ मा मै प्रतिपादन गरेको सिद्धान्तमा भनिएको छ। कानुन कार्यान्वयन गर्ने निकायले हरपल दिमागमा यसलाई राखेर हिँड्नुपर्छ। तर नेपालका हकमा निर्दोषले अनाहकमा दु:ख पाइरहेका घटना बेला-मौकामा सुनिन्छन्। यसपल्ट पनि त्यो दोहोरिएको छ।
केही दिनअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पढेका आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जना पक्राउ गर्यो। 'अपरेसन फक्सट्रोट' नाम दिइएको उक्त मुद्दामा डा रञ्जितकुमार यादव पनि पक्राउ परे। जसले अर्को डाक्टरसँग नाम मिलेकै कारण तीन रात र चार दिन प्रहरी हिरासतको यातना भोगे।
आफू निर्दोष रहेको प्रमाणसहित दाबी गर्दा समेत कानुन कार्यान्वयन गर्ने निकायले उनलाई सुन्न चाहेन। चिकित्सकहरुको संस्था नेपाल मेडिकल एसोसिएसन र डाक्टर रविन बस्नेतको सक्रियताले मात्रै उनलाई थुनामुक्त गराउन सम्भव भयो।
विशेषज्ञ चिकित्सा अध्ययनका लागि काठमाडौंमै बसेर तयारी गरिरहेका डा रञ्जितकुमार यादवलाई बिहीबार दिउसो ३ बजे सीआईबीले पक्राउ गर्यो। 'अपरेसन फक्सट्रोट' नाम दिइएको उक्त अनुसन्धान प्रक्रिया लामो समयदेखि चलाइएको थियो। नेपाल मेडिकल काउन्सिलमा पेस भएका शैक्षिक प्रमाणपत्र लिएर उनीहरुले पढेको भनिएका कलेजहरुबाट भेरिफाइ गराउने प्रक्रया त्यसअघि नै सकिएको थियो। उनीहरुको शैक्षिक प्रमाणपत्र जाली रहेको ठहरपछि मात्रै सीआईबीले हिरासतमा लियो।
यति प्रक्रिया पूरा गरिसकेको सीआईबी र नेपाल मेडिकल काउन्सिलले मुख्य प्रक्रियामा गल्ती गरे- नाम मिलेकै आधारमा गलत डाक्टर पक्राउ। शैक्षिक प्रमाणपत्र सोही नामका अर्का डाक्टरको थियो। जसको शैक्षिक प्रमाणपत्र सक्कली नभएको आशंका काउन्सिल र सीआईबीको थियो।
नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जिव तिवारीका अनुसार शैक्षिक प्रमाणपत्र ती व्यक्तिकै राखेर काउन्सिल दर्ताका लागि दिइएको आवेदनपत्र अर्कैको पठायो काउन्सिलले। सीआईबीले काउन्सिलबाट पठाइएका सबै प्रमाणपत्रहरु केलाउने प्रयत्न गरेन। प्रयत्न गरेको भए त्यहाँ जन्ममिति र बुवाको नामबाट दुई थरी डकुमेन्ट आएको थाहा लाग्थ्यो र त्यही अनुसार फेरि काउन्सिललाई खबर हुन्थ्यो।
सीआईबीले एउटा डकुमेन्ट मात्रै हेरेर सक्कली प्रमाणपत्रकै आधारमा चिकित्सा पढेका असली डाक्टरलाई पक्राउ गर्यो। डा यादव भन्छन्, 'मैले पटक-पटक म होइन, म नेपालमै पढेको हो भनिरहें तर सुनिएन।' उनीसँग नाम मिल्ने अर्का डाक्टरको एसलएसी र प्लसटुका शैक्षिक प्रमाणपत्रमाथि सीआईबीको आशंका छ।
उमेरले भर्खर ३० टेकेका युवा डाक्टर रञ्जितलाई पक्राउ परेको अवस्थादेखि नै आफू प्रहरीले खोजेको व्यक्ति नभएको ढुक्क थियो। उनले हरेक पटक प्रहरीलाई भनिरहे- तपाईं झुक्किनुभयो होला, म त्यो होइन।
उनलाई पक्राउ गर्ने बेला पनि स्पष्ट नखुलाइएको बताउँछन्। हिरासतमा पुगेपछि उनले सोधे, 'मलाई किन पक्राउ गरियो?' उनलाई पक्राउ गर्ने प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पक्राउ गरेको बताउँदै बाँकी कुरा 'डीएसपी साब'ले गर्ने बताए। उनले थपे, 'दिउँसो ३ बजेतिर मलाई उठाएर ल्याए। एक छिनमा आउनुहुन्छ भनेको डीएसपीसाब राति १२ बजे मात्रै आउनुभयो।'
उनले ती डीएसपीसँग त्यही दोहोर्यासए- तपाईंहरु झुक्किनुभयो होला।
डीएसपीले कुरै नसुनी आफूलाई 'तपाईं गलत हो भन्ने मलाई थाहा छ' भनेको उनी बताउँछन्। त्यसपछि उनलाई मालीगाउँस्थित हिरासतमा राखियो बिहीबार। उनीसँग नक्कली शैक्षिक प्रमाणपत्रकै लागि पक्रिएका अर्का एक जना थिए।
त्यो रात र त्यस्ता अन्य तीन रात उनको यातनामय भयो। किनभने, साँघुरो कोठामा २५/३० जना थिए। त्यसमा पनि अपराध गरेर समातिएकाहरु बहुसंख्यक थिए। सुत्यो भने राति नै मारिदेलान् भन्ने डरले उनले आँखा झिमिक्क गर्न सकेनन्। चिकित्सा पढेको मान्छे त्यसैमा, सरुवा रोग सर्ने डर पनि उत्तिकै भयो।
उनी सम्झिन्छन्, 'एक रात लागुऔषध प्रयोग गरेका नाममा समातिएका व्यक्ति बिरामी परेर अस्पताल लगेपछि झन् सात्तो गयो।'
शुक्रबार पाँच बजे उनी लगायत सबैलाई अदालत लगियो। अदालतमा धेरै सोधपुछ सांसद सुनिल शर्माकै बारेमा भयो। उनी लगायत अन्य ६ जनाले आफ्ना कुरा राख्ने मौका पाएनन्। उनले पछि थाहा पाए- पाँच दिनको म्याद थप गरिएछ।
उनले भने, 'मैले न्यायाधीशसँग कुरा गर्नै पाइनँ। उहाँले सोध्दा पनि केही सोध्नुभएन। पछि प्रहरीले नै सोध्यो- तपाईंको पाँच दिन म्याद थपेको थाहा छ?'
त्यही क्रममा उनले आफूलाई पक्राउ पर्ने आधार भनिएका फाइल हेरे। जहाँ उनले देखे, नाम बाहेक सबै अरुको छ। जन्ममिति उनको २०५० साल हो भने अर्का डा रञ्जितको २०४८ साल छ। उनको बुवाको नाम र ती रञ्जितको मिल्ने कुरै भएन।
त्यसपछि उनले त्यही कुरा त्यहाँ राखे। उनले आफूलाई अनुसन्धान गर्ने अधिकारीसँग कुरा गर्न खोजे। थापा थरका एक जनाले आफूले बुझ्ने बताएका थिए। उनलाई खोज्ने क्रममा आइपुगे न्यौपाने थरका इन्स्पेक्टर। जसलाई उनले भने, 'अर्कैको सर्टिफिकेट छ। मेरो होइन।'
उनी भन्छन्, 'उहाँले उल्टै भन्नुभयो, गल्ती नगरेर कोही यहाँ पुग्दैन। फाइल हेर्न पर्दैन।'
उनका बुवाले घरबाट सक्कली प्रमाणपत्र ल्याएर पनि पुर्या एका थिए। तर प्रहरीले 'भ्यालिड हुँदैन' भन्यो। उनले त्यही क्रममा एकप्रति गोजीमा राखे।
हिरासतमा अन्य अपराध गरेर आएकाहरुले समेत उनीहरुलाई हेप्थे र भन्थे, 'यस्तै नक्कली डाक्टरले मान्छे मार्छ। अपराध यिनीहरुकै कारण भइरहेको छ।' त्यो सुन्दा उनलाई निकै पोल्थ्यो। उनीहरुलाई नै देखाउन उनले फोटोकपी गोजीमा राखेर फर्के। भन्छन्, 'थुनुवामा सबैले नक्कली डाक्टर भन्थे। म सक्कली हुँ भन्नका लागि एकप्रति राखें।'
उनले आफ्ना कुरा राख्न आफन्तहरुसँग भेट गर्न खोजे। तर गोपनीयता भन्दै उनलाई सम्पर्कमा जान दिइएन।
उनी आफ्नै बलबुताले बाहिर आउन सफल भएका होइनन्। यहाँनेर उनका सहृदयीले बाहिरबाट गरेको प्रयासको प्रशंसा गर्छन्। उनका रुममेटले डा रविन बस्नेतलाई सम्पर्क गरेर भने, 'प्रहरीले मेरो साथीलाई पक्रियो, जो निर्दोष छ।'
सुरुमा डा रविनले विश्वास गरेनन्। पछि प्लस टु पेन्टागन र एमबीबीएस नोबेल मेडिकल कलेजमा पढेको ठाकुर थरका ती डाक्टरले बताएपछि डा रविन अघि सरेका हुन्। उनले सक्कली प्रमाणपत्र हात परेपछि सीआईबीसँग सम्पर्क गरे। उनले भने, 'म नेपाल मेडिकल एसोसिएसनको मान्छे हो। निर्दोष समात्नुभएको छ। त्यसलाई छुटाउनुपर्योन।'
डा रविन भन्छन्, 'आइतबार बिहान ११ बजे हामी गएका थियौं। म मेडिकल एसोसिएसनको मान्छे भनेको थिएँ। त्यहाँ रहेका पीएचडी गरेको छु भन्ने एक जना डीएसपीले 'तिमी र तँ बोलेर बोल्नुभयो। कुरै सुन्न चाहनुभएन।'
त्यसपछि नेपाल मेडिकल काउन्सिल पुगेर उनीहरुले सोही विषय राखे। त्यहाँका रजिष्ट्रार डा कृष्ण अधिकारीले एउटा कागज गलत जाँदा अर्कै पक्राउ परेको महसुस गरे। उनले सीआईबीलाई सोही बेहोराको पत्र लेखे। उनले पठाएका दुई वटा पत्र 'रिजेक्ट' गरिए। तेस्रो पत्रपछि मात्रै राति ११ बजेर ३५ मिनेटमा डा रञ्जित हिरासतमुक्त भए।
यो घटनालाई नेपाल मेडिकल एसोसिएसनले सामान्य रुपमा लिएको छैन। एउटा चिकित्सकको मनोबल गिराउने मात्रै होइन, पेसामाथि प्रश्न उठाउने गरी भएको रुपमा लिएको छ। मेडिकल काउन्सिल र सीआईबीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको भन्दै संलग्न अधिकारीहरुको राजीनामा माग गरिएको छ।
डा रञ्जितलाई यो घटनाले भित्रैदेखि हल्लाएको छ। नेपालमै विशेषज्ञ तह पढेर यहीँ काम गर्ने गरी तयारी गरिरहेका उनी विदेशिने सोच लिएर हिरासतबाट फर्किएका छन्। उनी भन्छन्, 'अब आत्मबल नै छैन। नेपालकै लागि काम गर्छु, यहीँ पढ्छु भनेर तयारी गरिरहेको थिएँ। बाहिर नजाने भनेर तयारी गरिरहेको थिएँ। विदेश गएर एमडी गर्ने र बाहिरै काम गर्ने सोच मनमा आएको छ। यस पल्ट मेरो साथी, रविन दाइ र एनएमए मसँग हुन्नथ्यो भने कम्तीमा २६ दिन हिरासतमै बित्थ्यो। त्यति बेलासम्म मेरो अवस्था के हुन्थ्यो भनेर म अहिले पनि डराइरहेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।