काठमाडौँ- २०७५ साउन २० गते जुम्ला सदरमुकाममा राधाकृष्ण बुढथापाको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले बुढथापाको मृत्युबारे विस्तृत अध्ययन छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव गोपाल अर्यालको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको हो।
समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक गुणाखर खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, जिल्ला वकिल कार्यालय जुम्लाका जिल्ला न्यायाधीवक्ता रञ्जीता पोखरेल र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका उपसचिव उपेन्द्रकेशर खनाल रहेका छन्।
समितिलाई बुढथापाको मृत्युसम्बन्धी विस्तृत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्नुको साथै मृत्युलाई लिएर गरिएका विरोध प्रदर्शनमा भएको क्षति तथा स्थानीय प्रशासनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गरी कमीकमजोरी पहिचान गर्ने र सुधारका उपाय सिफारिश गर्न जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।