काठमाडौं– सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन्। शुक्रबार उनलाई दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएको थियो।
उनी शनिबार बिहान ११ बजेतिर छुटेका हुन्। राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो।
अध्यागमनले नियन्त्रणमा लिएपछि शुक्रबार नै आन्तरिक राजश्व विभागलाई बुझ्नका लागि पत्राचार गरेको थियो। तर विभागले भने यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन।
साँझ राजश्व अनुसन्धान विभागले सीआईबीलाई बुझाउन खोज्दा सीआईबीले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन।
दुवै निकायले बुझ्न नमानेपछि अध्यागमनले नै रातभर अडुकियालाई राखेको थियो। सीआईबी र राजश्वले बुझ्न नमान्दा शनिबार भने उनलाई छाडिएको छ। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।